Monday, July 26, 2010

स्वर्गीय धितालप्रति भावपूर्ण श्रद्धाञ्जली

तुलसीपुर, साउन । रेडियो तुलसीपुर एफएमका अध्यक्ष स्व. देवीप्रसाद धितालको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले धितालको हत्यामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याउन सरकार एवं स्थानीय प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।
आपराधिक समूहद्वारा धितालको हत्या भएको १३ औं दिन रेडियो तुलसीपुर एफएम र लायन्स क्लव तुलसीपुरको संयुक्त आयोजनामा धिताल निवासमा भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रताप रेग्मीले अहिलेसम्म पनि अपराधीहरु पत्ता नलागेकोमा चिन्ता र आक्रोश व्यक्त गर्दै यस्तै स्थिति रहे पत्रकार महासंघ आन्दोलनमा उत्रिने बताउनुभयो । उहाले स्व. धितालको हत्यालाई पत्रकार महासंघको जिल्ला, केन्द्र र अन्तर्राट्रय पत्रकार महासंघले समेत गम्भीररुपमा लिएको प्रसंग उल्लेख गर्दै नागरिक हत्याप्रति राज्य र राजनीतिक दलहरु गम्भीर नभएको आरोप लगाउनुभयो । उहाले राज्य, सरकार, दलहरु र नागरिकसमेत निरीह बनेको अहिलेको अवस्थामा स्वर्गीय धितालको हत्याबारे सत्यतथ्य पत्ता लगाउन नागरिक तहबाटै पहल गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
श्रद्धाञ्जली सभाका विशिष्ट अतिथि नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले संक्रमणकालको फाइदा उठाएर समाजमा हत्या, हिंसा र अपराध मौलाउदै गएकोमा चिन्ता प्रकट गर्नुभयो । उहाले राजनीतिक दलहरुले प्रधानमन्त्री चुन्न नसकेको प्रसंग कोट्याउदै संक्रमणकाल लम्बिदा शान्ति सुरक्षाको स्थिति नराम्ररी बिग्रिएको बताउनुभयो । धितालको हत्यालाई नागरिक समाजले गम्भीररुपमा लिएको उल्लेख गर्दै उहा“ले राजनीतिक दलहरुले अपराधीलाई संरक्षण गर्न नहुनेमा जोड दिनुभयो । पुर्वसांसद गेहेन्द्र गिरीले गलत मानिसहरुलाई राजनीतिक दलहरुले काखी च्याप्दा अपराधलाई संरक्षण गर्ने काम भएको उल्लेख गर्दै स्वर्गीय धितालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेस दाङका संगठन विभाग प्रमुख केशव आचार्य, एकीकृत नेकपा माओवादीका तुलसीपुर नगर सेक्रेटरी प्रदीप वली, एमाले दाङका अध्यक्ष लक्ष्मण आचार्य, राष्ट्रिय जनमोर्चाका इश्वरी भण्डारी, मधेशी फोरम लोकतान्त्रिकका कृष्णगोपाल गुप्ता र जनमोर्चा नेपालका भरत दाहालले धितालका हत्यारा दण्डित हुनुपर्ने बताउदै अनुसन्धान प्रक्रियालाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा रेडियो तुलसीपुरका उपाध्यक्ष टेकनप्रसाद बस्नेत -हिमाल), राप्ती अञ्चल यातायात समितिका उपाध्यक्ष मेघराज भुसाल, प्रजातान्त्रिक कानुन व्यवसायी संघका मोहन धिताल, नेपाल पत्रकार महासंघ दाङका सचिव सविन प्रियासन, मानवअधिकार तथा शान्ति समाज दाङका सभापति निर्मल नेपाली, लायन्स क्लवका प्रतिनिधि सेम शाक्य, रेयूकाईका कृष्ण केसी, तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विष्णु पुन र रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरीले श्रद्धाञ्जलीसहित मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लायन्स क्लव तुलसीपुरका अध्यक्ष विमल रिजालको अध्यक्षता भएको श्रद्धाञ्जलीसभामा मानवअधिकार प्रतिष्ठानका अध्यक्ष विनोदकुमार श्रेष्ठले स्व. धितालको जीवनी प्रस्तुत गर्नुभएको थियो । श्रद्धाञ्जलीसभामा तेजबहादुर कार्कीले स्वागत, राजेन्द्र धितालले धन्यवाद ज्ञापन र पत्रकार सुशील बस्नेतले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
यसैगरी स्व. धितालको १३ औं दिनको पुण्यतिथिमा नेपाली कांग्रेस क्षेत्र नं. ४ ले श्रद्धाञ्जली सभा आयोजना गर्‍यो । नेका दाङका सभापति वीरकेशरी गौतमको प्रमुख आतिथ्यमा सम्पन्न श्रद्धाञ्जली सभा क्षेत्र नं. ४ का सभापति जगत खड्काको अध्यक्षतामा भएको थियो ।
हत्यारा पहिचान गरी कारवाही गर्न माग गर्दै ज्ञापनपत्र
घोराही, साउन । सञ्चार उद्यमी देवीप्रसाद धिताल -हेमराज) का हत्याराको पहिचान गरी कारवाही गर्न माग गर्दै रेडियो तुलसीपुरले मंगलवार तीनबु“दे मागसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, क्षेत्रीय प्रहरी इकाई कार्यालय राप्ती र इलाका प्रहरी कार्यालय तुलसीपुरमा बुझाएको छ ।
हत्या भएको १३ दिन बितिसक्दा पनि हत्याराको पहिचान हुन नसक्नुले थप अन्योल पैदा भएको भन्दै धिताल हत्याका दोषीहरुको यथाशीघ्र पहिचान गरी तत्काल कारवाही प्रक्रिया चलाउन ज्ञापनपत्रमा माग गरिएको छ । त्यसैगरी दाङको पश्चिम क्षेत्रको ब्रि्रदो शान्तिसुरक्षाको स्थितिलाई ध्यानमा राखी एक साताभित्र सुरक्षा व्यवस्था सुदृढ बनाउनुपर्ने, धिताल हत्याकाण्डबारे हालसम्म भएको अनुसन्धान र उपलब्धिबारे यथाशीघ्र जानकारी गराउनुपर्ने माग गरिएको छ । उल्लेखित मागहरुको पाँच दिनभित्रमा सुनुवाइ नभएमा नेपाल पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघसँग समन्वय गरी चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुने रेडियोका उपाध्यक्ष टेकनप्रसाद बस्नेतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रताप रेग्मी, रेडियो तुलसीपुरका उपाध्यक्ष टेकनप्रसाद बस्नेत, रेडियोका स्टेशन मेनेजर अर्जुन गिरीलगायतको टोलीले प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीलाई सो ज्ञापनपत्र बुझाएको थियो । सो अवसरमा हत्याको कारणबाट हत्याराको पहिचान गर्नुपरेकाले समय लम्बिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । प्रहरीको एक्लो प्रयासले मात्र अपराधीको पहिचान र पक्राउ गर्न समय लाग्ने उहाँले बताउनुभयो । प्रहरी प्रमुख ज्ञवालीले प्रहरीले हत्यारा पहिचान गर्ने काम जारी राखेको उल्लेख गर्दै हत्याको प्रकृतिअनुसार हत्या सुनियोजित र योजनावद्ध भएका कारण हत्याराको पहिचान गर्न केही समय लागेको बताउनुभयो ।

Sunday, July 25, 2010

अपराधीलाई माओवादीको संरक्षण


काठमाडौ, श्रावण - माओवादी असहयोगका कारण चिनियाँ व्यापारी लुटपाट र यार्सागुम्बाको अवैध व्यापारका मुख्य आरोपी माओवादी केन्द्रीय सदस्य तथा पाँचांै डिभिजन कमान्डर कालीबहादुर खामलाई पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ ।
माओवादीकै संरक्षणमा खामलाई काठमाडौं बाहिर पठाएको प्रहरी स्रोतले जनायो । राजधानीका विभिन्न ठाउँमा छापा मारे पनि उनलाई पक्राउ गर्न प्रहरी असफल भएको थियो ।
खाम एक साताअघि दाङ पुगेको उनको मोबाइलबाट पत्ता लागेको प्रहरीले बताएको छ । उनले प्रयोग गर्ने दुइटा नम्बरमध्ये एउटा ललितपुरको सातदोबाटो र अर्को नम्बर दाङमा पुगेर बन्द भएको काठमाडौं परिसरका एक प्रहरी अधिकृतले कान्तिपुरलाई बताए ।
असार अन्तिम साता राजधानीमा खामले राखेको यार्सागुम्बा किन्न गएका तीन चिनियाँ व्यापारीबाट २६ लाख रुपैयाँ लुटिएको थियो । यार्सा व्यापारका साझेदार रुकुममा गणेश मल्लले खामकै योजनामा व्यापारी लुटिएको बयान प्रहरीलाई दिएका थिए ।
प्रहरी स्रोतका अनुसार साउन २ गते राति माओवादी पार्टीका तीन गाडी प्रयोग गरेर उनलाई काठमाडौं बाहिर पठाइएको हो । उनले प्रयोग गरेको ९७४११९४४८४ नम्बर साउन ३ देखि दाङमा पुगेर स्विचअफ भएको छ । अर्को ९८४००५०८२६ नम्बर असार २९ गते राति सातदोबाटोबाट अफ भएको छ ।
दाङमा माओवादी लडाकु पाँचौं डिभिजन रोल्पाको शाखा शिविर छ । विभिन्न घटनामा आरोपी खामलाई माओवादीले प्रहरीमा नबुझाई
छानबिन समिति गठन गरेर कानुन हातमा लिएको प्रहरीको आरोप छ । 'अपराधमा संलग्नको अनुसन्धान गर्ने जिम्मा प्रहरीको हो,' प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकृतले भने, 'माओवादीले छानबिन समिति गठन गरेर कानुनको उपहास गरेको छ ।' अनमिनको निगरानीमा रहेका माओवादी लडाकुका जिम्मेवार कमान्डरले गैरकानुनी क्रियाकलाप गर्दासमेत अनमिनले चासो नदेखाएको प्रहरीको भनाइ छ ।
खामलाई कानुनी दायरामा ल्याउन गृहमन्त्री भीम रावलले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर आग्रह गरेका थिए । माओवादी लडाकु प्रवक्ता तथा केन्द्रीय सदस्य चन्द्रप्रकाश खनाल -बलदेव) ले पार्टीले देशको प्रचलित कानुन नमान्ने भएकाले आन्तरिक छानबिन गरिरहेको बताए ।
खाम आफ्नो कार्यक्षेत्रमा रहेको जानकारी दिँदै खनालले भने, 'प्रचलित कानुन नमान्नलाई नै हामीले विद्रोह गरेका थियांै, पार्टीभित्र आन्तरिक रूपमा उनीमाथि लागेको आरोपमा छानबिन भइरहेको छ ।' प्रहरीले पार्टीका केन्द्रीय सदस्यमाथि शृंखलाबद्ध झूटा आरोप लगाएको उनको दाबी छ । 'सुनियोजित रूपमा खामलाई फसाउन खोजिएको हो,' उनले भने, 'प्रहरीले केही तथ्य फेला पारेको भए पार्टीलाई बुझाइदिए हुन्छ ।'
खाम रामहरि हत्यामा मुछिएपछि केन्द्रीय सदस्य बनाए पनि उल्लेख्य जिम्मेवारी नदिएको उनले दाबी गरे । 'अन्तर्राष्ट्रिय समुदाय, मानव अधिकारवादीले दबाब दिएपछि उनलाई ठोस जिम्मेवारी दिइएको छैन, रोल्पाको माओवादी शिविर पनि सहायकहरूले चलाउँदै आएका छन् ।'
काठमाडौं परिसरका एसपी रमेश खरेलले कानुनी रूपमा अपराध अनुसन्धान र नियन्त्रणको काम नेपाल प्रहरीको भएको बताए । 'पार्टीले आन्तरिक छानबिन गर्न सक्छ तर उसको काम राजनीति गर्ने हो, प्रहरीबाट प्रमाण मागेर अनुसन्धान गर्ने होइन,' उनले भने, 'अपराधीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनु प्रहरीको काम हो । व्यावसायिक प्रहरीले पर्याप्त प्रमाणका आधारमा जुनसुकै अपराधीलाई पनि पक्राउ गरेर कारबाही गर्छ, सुनियोजित रूपमा कसैको पछि लाग्दैन ।'

Thursday, July 22, 2010

एमालेले कसैलाई समर्थन गर्दैन: अध्यक्ष खनाल


काठमाडौ, श्रावण ६ - प्रधानमन्त्रीको पहिलो चरणको निर्वाचनबाट बाहिरिएको एमालेले अब राष्ट्रिय सहमति नबनुन्जेल बहुमतीय सरकार निर्माणका लागि कसैलाई समर्थन नगर्ने जनाएको छ । एमाले शीर्ष नेताहरूले शुक्रबार हुने दोस्रो चरणको चुनावमा माओवादी र कांग्रेस दुवै दललाई समर्थन नगर्ने बताएका हुन् ।
दुई तिहाइ मतनजिक पुगेर पनि ४ सय १ संख्या नपुगेका कारण एमालेले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएको थियो । 'राष्ट्रिय सहमतिको सरकारका लागि एमालेले उम्मेदवारी फिर्ता लिएको हो,' प्रधानमन्त्रीको उम्मेदवारीबाट हटेका एमाले अध्यक्ष झलनाथ खनालले भने, 'राष्ट्रिय सहमति नहुन्जेल अब मुलुकमा सरकार नबन्ने अवस्था छ, बहुमत पुर्‍याउनका लागि कुनै पनि दललाई हाम्रो समर्थन रहँदैन ।'
उनले ३ सय ९१ जनाको समर्थनसहित करिब दुई तिहाइ मतको नजिक पुगेर पनि उम्मेदवारी फिर्ता लिएर एमालेले राष्ट्रिय सहमतिका लागि त्याग गरेको बताए । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि राष्ट्रिय सहमतिको सरकार बन्ने सर्तमा बहुमतको सरकार छाडेकाले अब पनि पार्टीले कुनै बहुमतीय सरकारका लागि समर्थन नगर्ने बताए । 'एमालेले राष्ट्रिय सहमतिको सरकारको पक्षमा मात्र उभिने निर्णय गरेको छ,' उनले संसद् बैठकपछि संवाददातासँग भने ।
प्रधानमन्त्रीको दौडबाट बाहिरिएको एमालेले राष्ट्रिय सहमति जुटाउन सक्ने अर्को कुनै भरपर्दो उम्मेदवारलाई फेरि चुनावी प्रक्रियामा प्रवेश गराउने वातावरण बनाउने तयारी गरेको छ ।
एमालेले त्यसका लागि संसद्को नियमावली संशोधनसमेत गर्न सक्ने प्रस्ताव ल्याउने उसको सोचाइ छ । माओवादी र कांग्रेस दुवैले राष्ट्रिय सहमति बनाउन नसक्ने भएकाले अर्को कुनै उम्मेदवार आउन सक्ने वातावरण बनाउनुपर्ने नेताहरूको धारणा छ ।
संसद्को नियमावलीअनुसार कुनै पनि उम्मेदवारको पक्षमा बहुमत नपुगेको अवस्थ्ामा तिनै दुई उम्मेदवारबीच बहुमत नजुटुन्जेलसम्म पटक-पटक चुनाव गराउनुपर्ने प्रावधान छ । यो प्रावधानअनुसार अब माओवादी र कांग्रेसका उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुन्छ । 'बहुमतीय खेलमा नलागेर अब सहमतिका लागि प्रक्रियामा समेत संशोधन गरेर अघि जान सकिन्छ,' एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने ।
एमालेले ४ सय १ को समर्थन जुटाउन निकै कसरत गरेको थियो । माओवादीले समर्थन गर्ने लिखित पत्र पठाएपछि अन्य अधिकांश साना दलले समेत समर्थन गर्ने जानकारी गराएका थिए । तर मधेसी मोर्चाका दलहरूको समर्थन जुटाउन नसक्दा खनालको उम्मेवारी फिर्ता हुने अवस्था आएको हो । 'सबैको स्पष्ट समर्थन गर्ने जानकारी आएको थियो,' एमाले सचिव युवराज ज्ञवालीले भने, 'फोरमले समर्थन गर्ने जनाएको थियो तरपछि मधेसी मोर्चाबाट नछुट्टनि निर्णयका कारण दुई तिहाइ पुग्न सकेन ।' नेताहरूले १५ चरणभन्दा बढी पटक दलहरूसँग छलफल र कुराकानी गरेका थिए । मधेसी मोर्चाको तटस्थ रहने निर्णयका कारण ४ सय १ को संख्या नपुग्ने भएपछि उम्मेदवारी फिर्ता लिने कि नलिने भन्नेमा एमाले नेताहरूबीच नै विवाद भएको थियो । दुई तिहाइ नजिकको मत हुँदाहँुदै उम्मेदवारी फिर्ता गर्न नहुने प्रस्ताव खनाल पक्षका नेताहरूले गरेका थिए । उनीहरूले स्थायी कमिटीको औचापरिक बैठक गरेर उम्मेदवारी कायमै राख्ने निर्णय गर्नुपर्ने दबाब दिएका थिए ।
तर माधव नेपाल र केपी ओली पक्षले भने केन्द्रीय कमिटीबाट ४ सय १ पुर्‍याउनैपर्ने निर्णय भएको र बहुमत हुँदाहँुदै यसअघि राजीनामा दिएका कारण पनि दुई तिहाइ मत नभएको अवस्थामा उम्मेदवारी फिर्ता लिनुपर्ने धारणा राखेका थिए । यी विषयले उनीहरूबीच निकै चर्काचर्की परेको थियो । तरपछि केन्द्रीय कमिटीको निर्णय नेता माधवकुमार नेपालले संसद्को बैठकमै सुनाएर उम्मेदवारी फिर्ता लिएका थिए । केन्द्रीय कमिटीले स्पष्ट रूपमा ४ सय १ को लिखित सहमतिपत्र प्राप्त नहुन्जेल सरकारमा नजाने निर्णय गरेको थियो । खनाल पक्ष भने झन्डै १० मत मात्र नपुगेका अवस्था उम्मेदवारी नै फिर्ता गर्न दबाब दिएको र अन्य दलको समर्थन जुटाउने पहलमा पार्टीभित्रका शीर्ष नेताहरूबाटै पर्याप्त भूमिका निर्वाह नभएको भन्दै असन्तुष्ट बनेको छ । तर ओली पक्षका नेताहरूले पनि दलहरूको समर्थन जुटाउन वार्ता गरेका थिए ।

Tuesday, July 13, 2010

कार्कीको हत्यामा संलग्नहरू माओवादी लडाकू शिविरमा


काठमाडौँ, असार २७। नेकपा (एमाले)ले राष्ट्रिय परिषद् सदस्य छविलाल कार्कीको हत्याको विरोधमा देशव्यापी भण्डाफोर कार्यक्रम सार्वजनिक गरेको छ ।
नेकपा (एमाले) मुख्यालय मदननगर बल्खुमा आइतबार आयोजित पत्रकार सम्मेलनमा असार २८ गतेदेखि साउन ३ गतेसम्मको भण्डाफोर कार्यक्रम सार्वजनिक गरिएको हो । एमालेले स्वर्गीय छविलालको १३औँ पुण्यतिथिका दिन साउन ४ गते देशका ७५ जिल्ला सदरमुकाममा श्रद्धाञ्जलिसभा गर्ने भएको छ ।
पार्टी अध्यक्ष झलनाथ खनालले प्राप्त तथ्य र प्रमाणका आधारमा कार्कीको हत्या माओवादी कार्यकर्ताबाटै भएको दाबी गर्दै हत्यामा संलग्नहरू सिन्धुलीस्थित माओवादी लडाकू शिविरमा संरक्षित भएको आरोप लगाउनुभयो ।
उहाँले कार्कीको हत्या घटनाका आधारमा राष्ट्रिय सहमति निर्माण, शान्तिप्रक्रियामा अवरोध नपुगोस् भन्नेमा पार्टी गम्भीर रहेको उल्लेख गर्दै कार्कीको हत्या रहस्यमय भएकाले गभ्भीर अनुसन्धान आवश्यक भएको र अनुसन्धानमा सहयोग गर्न माओवादीलाई आग्रह पनि गर्नुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले राजनीतिक प्रकृतिका अपराधका घटनामा अनुसन्धान गर्न नेपाल प्रहरी असफल बन्दै आएको र त्यसका कारण राजनीतिक दबाब पनि भएको बताउनुभएको छ ।
उहाँले एनेकपा माओवादीका लडाकू रहेका शिविरहरू अपराधी संरक्षण गर्ने थलो भएको पटक-पटक प्रमाणित भइसकेको बताउनुभएको छ ।
पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले आइतबार बसेको तीन दलको बैठकमा छविलाल कार्कीको हत्याको विषयलाई उठाउँदा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'घटनाबाट आफू स्तब्ध भएको' भन्दै कार्कीको हत्यामा आपmनो कार्यकर्ताको संलग्नता पाइए कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको बताउनुभयो ।
त्यो क्षेत्रका जिम्मेवार साथीसँगको कुराकानीमा कार्यकर्ताको संलग्नताबारे प्रमाणित भएको छैन, बैठकमा अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एमाले नेता ज्ञवालीले भन्नुभयो- तर ढुक्क हुन सकेको छैन, एमालेले साह्रै पेले भनेर त्यो क्षेत्रका कार्यकर्ताले गुनासो गर्दै आएका थिए ।
एमाले नेता ज्ञवालीले बैठकमा छविलाल हत्याको निन्दा गर्ने, सरकारले अनुसन्धान अगाडि बढाउने र अनुसन्धानमा माओवादीले सहयोग गर्ने लिखित प्रतिबद्धता भएको जानकारी दिनुभयो ।

कार्यकर्ता हत्याको विरोधमा एमालेले देशब्यापी विरोध प्रर्दशन गर्ने
काठमाडौ असार २७। ओखलढुंगाका नेता छविलाल कार्कीको हत्या विरोधमा एमालेले देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्थायी समिति बैठकले हत्यालाई गम्भीर रुपमा लिदै देशब्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
कार्कीलाई ओखलढुंगाको ठूलाछाप गाविस-४ निशंखे भन्ने ठाउँमा होटलमा खाना खाइरहेको बेला अज्ञात समूहले बिहीबार राति हत्या गरेका थिए । एमालेले उक्त हत्या माओवादीले गरेको दावी गर्दै आएको छ ।
बैठकपछि उपाध्यक्ष बामदेव गौतमले उक्त हत्यालाई पार्टीले गम्भीर रुपमा लिएको जानकारी दिए ।
अर्का नेता केपी ओलीले बैठकले राष्ट्रिय सहमतिको सरकार निर्माण जोड दिएको बताउदै सहमतिका लागि पार्टीले थप प्रयत्न गर्ने जानकारी दिए ।
बैठकले केन्द्रीय कमिटीको बैठकको मिति तोक्दै एजेण्डा तय गर्ने बताइएको थियो । तर अर्को स्थायी समितिको बैठकले मात्र केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तोक्ने बताइएको छ ।
कार्कीको पार्थिक शरिर राजधानी ल्याइ शवयात्रा गरिने समेत एमालेले जनाएको छ ।
प्रथम महिला उपसभामुख लिला श्रेष्ठको निधन
धरान, असार २७। नेपालको पहिलो महिला उपसभामुख लिला श्रेष्ठ सुव्वाको ६३ बर्षको उमेरमा आइतबार विहान सात बजे धरान-७ स्थित आफ्नै घरमा निधन भएको छ । ताप्लेजुङ्को सिगैचा-९ साम्मागु पाँचपले मा विसं २००४ सालमा अमर बहादुर मेन्याङ्बो र सुकमति आङ्देम्बेको छोरीको रुपमा जन्मेकी सुव्वा लामो समय देखि दमको रोगबाट पीडित थिइन ।
नेपाली कम्यूनिष्ट आन्दोलनमा विद्यार्थी कालदेखि नै अग्रणी भूमिका खेल्दै आएकी सुव्वाले २०५१ सालको आम चुनावमा सुनसरी क्षेत्र नं १ बाट विजयी भए पछि ०५५ साल सम्म पहिलो महिला उपसभामुख भएर आफ्नो कार्यक्षमता देखाएकी थिइन ।
०३६ साले देखि कम्यूनिष्ट राजनितिमा प्रबेश गरे पनि नेकपा माले हुदै नेकपा एमाले सम्म आइपुग्दा उनी केन्द्रीय सल्लाहकार, एमाले कोशी अंचल कमिटी सदस्य, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य रहेकी थिइन ।
विभिन्न दुई दर्जन बढी सामाजिक संघ संस्थामा समेत सकृय सुव्वा विगत पाँच बर्ष देखि दम रोगबाट पिडित भए पनि आर्थिक अभावले प्रभाकारी उपचार गर्न सकेकी थिइनन ।
त्रिभुवन विश्वविद्यालयबाट राजनितिशास्त्रमा स्नातकोत्तर सुव्वाले 'फोकल्याण्ड' कथा संग्रह प्रकासित गरेकी छन् । उनले दर्जनौं प्रगतिवादी कथा, कविता र निवन्धहरु लेखेर महिलाहरुको पक्षमा वकालत गर्दै आएकी थिइन । चार दशक अगाडि नै धरानका ध्रुवकुमार श्रेष्ठ संग अन्तरजातीय विवाह गरे पनि उनीहरु निसन्तान रहेका छन् ।
नेकपा एमालेले सुव्वाको शवलाई पार्टीको झण्डा ओढाएर आइतबार अपरान्ह २ बजे सम्म भानुचोकमा श्रदाञ्जलीका लागि राख्ने भएको छ भने त्यसपछि खत्रीबम दाहसस्कार स्थलमा लैजाने भएको छ ।

Monday, July 12, 2010

पत्रकार महासंघ मलेसिया द्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रामचन्द्र नेपाल क्वालालम्पुर ९ जुलाई
नेपाल पत्रकार महासंघ मलेसियाको आयोजनामा श्रम निति र कार्यान्वयन विषयक अर्न्तरक्रिया सम्पन्न भएको छ। पत्रकार महांसघ मलेसियाका सभापति विनो लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय सदस्य कृष्ण वहादुर केसी,नेपाल ट्रेड युनियन काग्रेसका केन्द्रिय सदस्य जनार्दन भटराई, नेकपा एमाले प्रवास कमिटि 'प्रवासि नेपाली मजदुर संघ मलेसियाका अध्यक्ष अमर ओली "श्रमजीवी", गैर आवासिय नेपाली संघका केद्रिय सदस्य भिम शेरचन,जिफन्ट मलेसियाका वेद कुमार खतिवडा,नेपाली काग्रेस जनसम्पर्क मन्च मलेसियाका संयोजक चोलाकान्त पंगेनी लगायतकाले अन्तरक्रियामा आ-आफनो भनाई राख्नु भएको थियो। कार्यक्रमको सन्चालन शाखा कोषाध्यक्ष रुसाहाङ चेमजोङले गर्नु भएको थियो।

Tuesday, July 6, 2010

मलेसियाको जेल र क्याम्पमा संयुक्त अनुगमन टोली

क्वालालम्पुर । मलेसियाका जेल तथा क्याम्पहरुमा विभिन्न कारणले सजाय काट्दै आइरहेका नेपाली मजदुरहरु लाइ मलेसिया स्थित प्रवासी नेपाली मजदुर संघ मलेसिया, नेपाली दुतावास मलेसिया र तमु समाज मलेसिया को संयुक्त टोलीले मंगलबार अध्ययन तथा अनुगमन गरेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुर देखि दक्षिण पूर्वी स्थानमा रहेको काजाङस्थित लिङकिङ क्यापमा विभिन्न अभियोगमा सजाय भोगीरहेका २९ जना नेपाली मजदुरहरु रहेको अनुगमन टोलीमा सरिक हुनुभयका प्रवासी नेपाली मजदुर संघका अध्यक्ष अमर ओली "श्रमजिवी" ले बताउनु भयको छ । २७ जना अबैधानिक अभियोगमा समातिएका हुन्, भने एक जना अपहरण र एक जना मानव बेचबिखन अभियोगमा समातिएका हुन्। ‘क्याम्प भित्र रहेका मजदुरहरु विगत एक हप्ता देखि २ वर्ष सम्म सजाय भोगिरहेका छन् ।
प्रवासी नेपाली मजदुर संघ मलेसियाका अमर ओली "श्रमजिवी" नेपाली दुतावास मलेसियाका कृष्ण विष्ट, हर्क लामा र तमु समाज मलेसियाका सुर्य गुरुङ समेतको एक टोलीले उक्त क्यापमा रहेका नेपाली मजदुरहरु को अनुगमन गरेको हो । क्यापमा रहेका २९ मध्ये २० जनाको नेपाल फर्कन मिल्ने यात्रा अनुगमन पत्र छिटै बन्ने भएकोले उनीहरु छिट्टै नेपाल फर्कन मिल्ने अनुगमन टोलीले बताएको छ । बाँकी ९ जनाका आफन्तहरु सम्पर्कमा नआएका कारण छिट्टै मुक्त हुन सक्ने अवस्था छैन । टोलीका अनुसार टिकट दिने कोहि भए अपहरणकारी बाहेक अन्य ८ जना मुक्त भई नेपाल फर्कन सक्ने छन् ।
ढेड महिना देखि १६ जना नेपाली श्रमिक अलपत्र
क्वालालम्पुर । मलेसियाको इपो पेराकमा रहेको लेटेस्ट ग्लोव कम्पनीमा डेढ महिना अगाडि आएका १६ जना नेपाली अलपत्र अवस्थामा परेका छन । विभिन्न पाँच वटा मेन पावरवाट आएका उनीहरु कम्पनीले वेवास्था गरेको कारण अलपत्र परेका हुन । चौध सय रिगेट अर्थात लगभग नेपाली ३३ हजार रुपैया खर्च गरि चार वटा टेक्सी रिर्जभ गरेर उनीहरु क्वालालम्पुर आई पुगेका हुन ।मलेसिया स्थित नेपाली दुतावासको सहयोगमा घर फर्कने तयारी गरिरहेका उनीहरु मध्ये ७ जनाको नेपालवाट फर्कने टिकट आईसकेको बताइएको छ । वाँकि अन्य नेपाली श्रमिकहरुलाई प्रवासी नेपाली मजदुर संघले सहयोग गरिरहको संघका अध्यक्ष अमर ओली "श्रमजिवी"ले जानकारी गराउनु भएको छ । ओलीका अनुसार पिडित वाँकि नेपालीहरु पनि छिटै घर फर्कने छन ।

मलेसियामा एक नेपालीले नेपाली रेष्टुरेण्ट भित्रै झुण्डीएर आत्महत्या
क्वालालम्पुर । पाहाङ राज्यको मेनत्ताकाप स्थित एक नेपाली रेष्टुरेण्टमा जुलाई एक तारिखका दिन स्याङजा घर भएका विशाल मगरले झुण्डीएर आत्महत्या गरेका छन् । पाहाङको मेन्ताकापस्थित नेपाली रेष्टुरेण्टमा विहान अन्दाजी तीन बजे झुण्डीएर उनले आतमहत्या गरेका हुन । अवैधानिक रुपमारहेका मगर जोहोरबरुबाट १२ दिन अगाडि मात्र सो ठाउामा पुगेका हुन । सो रेष्टुरेण्टका संचालकहरु फरार रहेको कारण सम्पूर्ण विवरण थाहा हुन सकेको छैन । सोही रेष्टुरेण्टमा काम गर्ने गोपाल चापागाईको अनुसार चिहाएर हेर्दा मक्लरले झुण्डीए आत्माहत्या गरेको बताएका छन् ।