आपराधिक समूहद्वारा धितालको हत्या भएको १३ औं दिन रेडियो तुलसीपुर एफएम र लायन्स क्लव तुलसीपुरको संयुक्त आयोजनामा धिताल निवासमा भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रताप रेग्मीले अहिलेसम्म पनि अपराधीहरु पत्ता नलागेकोमा चिन्ता र आक्रोश व्यक्त गर्दै यस्तै स्थिति रहे पत्रकार महासंघ आन्दोलनमा उत्रिने बताउनुभयो । उहाले स्व. धितालको हत्यालाई पत्रकार महासंघको जिल्ला, केन्द्र र अन्तर्राट्रय पत्रकार महासंघले समेत गम्भीररुपमा लिएको प्रसंग उल्लेख गर्दै नागरिक हत्याप्रति राज्य र राजनीतिक दलहरु गम्भीर नभएको आरोप लगाउनुभयो । उहाले राज्य, सरकार, दलहरु र नागरिकसमेत निरीह बनेको अहिलेको अवस्थामा स्वर्गीय धितालको हत्याबारे सत्यतथ्य पत्ता लगाउन नागरिक तहबाटै पहल गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
श्रद्धाञ्जली सभाका विशिष्ट अतिथि नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले संक्रमणकालको फाइदा उठाएर समाजमा हत्या, हिंसा र अपराध मौलाउदै गएकोमा चिन्ता प्रकट गर्नुभयो । उहाले राजनीतिक दलहरुले प्रधानमन्त्री चुन्न नसकेको प्रसंग कोट्याउदै संक्रमणकाल लम्बिदा शान्ति सुरक्षाको स्थिति नराम्ररी बिग्रिएको बताउनुभयो । धितालको हत्यालाई नागरिक समाजले गम्भीररुपमा लिएको उल्लेख गर्दै उहा“ले राजनीतिक दलहरुले अपराधीलाई संरक्षण गर्न नहुनेमा जोड दिनुभयो । पुर्वसांसद गेहेन्द्र गिरीले गलत मानिसहरुलाई राजनीतिक दलहरुले काखी च्याप्दा अपराधलाई संरक्षण गर्ने काम भएको उल्लेख गर्दै स्वर्गीय धितालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेस दाङका संगठन विभाग प्रमुख केशव आचार्य, एकीकृत नेकपा माओवादीका तुलसीपुर नगर सेक्रेटरी प्रदीप वली, एमाले दाङका अध्यक्ष लक्ष्मण आचार्य, राष्ट्रिय जनमोर्चाका इश्वरी भण्डारी, मधेशी फोरम लोकतान्त्रिकका कृष्णगोपाल गुप्ता र जनमोर्चा नेपालका भरत दाहालले धितालका हत्यारा दण्डित हुनुपर्ने बताउदै अनुसन्धान प्रक्रियालाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा रेडियो तुलसीपुरका उपाध्यक्ष टेकनप्रसाद बस्नेत -हिमाल), राप्ती अञ्चल यातायात समितिका उपाध्यक्ष मेघराज भुसाल, प्रजातान्त्रिक कानुन व्यवसायी संघका मोहन धिताल, नेपाल पत्रकार महासंघ दाङका सचिव सविन प्रियासन, मानवअधिकार तथा शान्ति समाज दाङका सभापति निर्मल नेपाली, लायन्स क्लवका प्रतिनिधि सेम शाक्य, रेयूकाईका कृष्ण केसी, तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विष्णु पुन र रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरीले श्रद्धाञ्जलीसहित मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लायन्स क्लव तुलसीपुरका अध्यक्ष विमल रिजालको अध्यक्षता भएको श्रद्धाञ्जलीसभामा मानवअधिकार प्रतिष्ठानका अध्यक्ष विनोदकुमार श्रेष्ठले स्व. धितालको जीवनी प्रस्तुत गर्नुभएको थियो । श्रद्धाञ्जलीसभामा तेजबहादुर कार्कीले स्वागत, राजेन्द्र धितालले धन्यवाद ज्ञापन र पत्रकार सुशील बस्नेतले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
यसैगरी स्व. धितालको १३ औं दिनको पुण्यतिथिमा नेपाली कांग्रेस क्षेत्र नं. ४ ले श्रद्धाञ्जली सभा आयोजना गर्यो । नेका दाङका सभापति वीरकेशरी गौतमको प्रमुख आतिथ्यमा सम्पन्न श्रद्धाञ्जली सभा क्षेत्र नं. ४ का सभापति जगत खड्काको अध्यक्षतामा भएको थियो ।
हत्यारा पहिचान गरी कारवाही गर्न माग गर्दै ज्ञापनपत्र
घोराही, साउन । सञ्चार उद्यमी देवीप्रसाद धिताल -हेमराज) का हत्याराको पहिचान गरी कारवाही गर्न माग गर्दै रेडियो तुलसीपुरले मंगलवार तीनबु“दे मागसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, क्षेत्रीय प्रहरी इकाई कार्यालय राप्ती र इलाका प्रहरी कार्यालय तुलसीपुरमा बुझाएको छ ।
हत्या भएको १३ दिन बितिसक्दा पनि हत्याराको पहिचान हुन नसक्नुले थप अन्योल पैदा भएको भन्दै धिताल हत्याका दोषीहरुको यथाशीघ्र पहिचान गरी तत्काल कारवाही प्रक्रिया चलाउन ज्ञापनपत्रमा माग गरिएको छ । त्यसैगरी दाङको पश्चिम क्षेत्रको ब्रि्रदो शान्तिसुरक्षाको स्थितिलाई ध्यानमा राखी एक साताभित्र सुरक्षा व्यवस्था सुदृढ बनाउनुपर्ने, धिताल हत्याकाण्डबारे हालसम्म भएको अनुसन्धान र उपलब्धिबारे यथाशीघ्र जानकारी गराउनुपर्ने माग गरिएको छ । उल्लेखित मागहरुको पाँच दिनभित्रमा सुनुवाइ नभएमा नेपाल पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघसँग समन्वय गरी चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुने रेडियोका उपाध्यक्ष टेकनप्रसाद बस्नेतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रताप रेग्मी, रेडियो तुलसीपुरका उपाध्यक्ष टेकनप्रसाद बस्नेत, रेडियोका स्टेशन मेनेजर अर्जुन गिरीलगायतको टोलीले प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीलाई सो ज्ञापनपत्र बुझाएको थियो । सो अवसरमा हत्याको कारणबाट हत्याराको पहिचान गर्नुपरेकाले समय लम्बिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । प्रहरीको एक्लो प्रयासले मात्र अपराधीको पहिचान र पक्राउ गर्न समय लाग्ने उहाँले बताउनुभयो । प्रहरी प्रमुख ज्ञवालीले प्रहरीले हत्यारा पहिचान गर्ने काम जारी राखेको उल्लेख गर्दै हत्याको प्रकृतिअनुसार हत्या सुनियोजित र योजनावद्ध भएका कारण हत्याराको पहिचान गर्न केही समय लागेको बताउनुभयो ।
No comments:
Post a Comment