Wednesday, June 23, 2010

नेपाली भाषा बोल्न नजान्ने नेपाली मन्त्री


काठमाडौं, असार : नेपाल सरकारकी एक मन्त्री नेपाली नै बोल्न जान्दिनन् । नेपाली उनी कठिनसँग बुझि्छन्, तर जवाफ फर्काउन सक्दिनन् ।
भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावतीदेवी पासवान आफ्नै दल फोरम लोकतान्त्रिकका सभासद् प्रमोद गुप्तासँग झगडा भएपछि अहिले चर्चामा छिन् । गृहजिल्ला बारा सदरमुकाममा उनीहरूबीच आमाका नाममा हिन्दीमा गालीगलौज भएपछि विवाद चर्किएको हो ।
विवाद मिलाउन अध्यक्ष विजय गच्छदारले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका थिए । रिपोर्टिङ गर्न नयाँ पत्रिका पनि पार्टी कार्यालय पुगेको थियो । उनीहरू चर्कोचर्को स्वरमा आरोप-प्रत्यारोप गरिरहेका थिए । तर, उनीहरू भोजपुरीमा झगडा गरेकाले कसले के भनेको हो भनी रिपोर्टिङ गर्न मुस्किल भयो ।
विवाद किन र कहाँबाट सुरु भएको हो भनी नयाँ पत्रिकाले मंगलबार पनि 'फलोअप' गरेको थियो । त्यही क्रममा प्रस्ट भयो, मन्त्रीजी नेपाली बोल्नै नसक्ने रहिछन् ।
मन्त्री पासवानले नेपाली बोल्नै नजान्दा मन्त्रालयका कर्मचारीसँग संवादमा समस्या परेको छ । मन्त्री नेपालीमा बोल्न सक्दिनन्, कर्मचारी भोजपुरी बोल्न सक्दैनन् । त्यसैले, कर्मचारीहरू सकेसम्म मन्त्रीबाट टाढा हुन खोज्छन् ।
'नेपाली भाषामा कुरा गर्दा त मन्त्री रिसाइहाल्नुहुन्छ,' मन्त्रालयका कर्मचारीले नयाँ पत्रिकासित भने । मन्त्रीलाई भेट्न आउने कार्यकर्ता भने हिन्दी र भोजपुरीमा खरर्र बोल्छन् । नेपाली बोल्न नआउने सहायकमन्त्री पासवानलाई नेपाली भाषामा लेखिएका किताब र पत्रपत्रिका पनि पढ्न आउँदैन । उनका सहयोगीले उनको विषयमा लेखिएका समाचार अनुवाद गरेर सुनाउँछन् । आफ्ना बारेमा आएका समाचारप्रति उनी निकै चासो राख्छिन् ।
नेपाली नबुझ्ने कलावतीको माइती भारतको मोतिहारी हो । उनी सात कक्षासम्म अध्ययन गरेको बताउँछिन् । तर, कर्मचारीहरू भन्छन्, 'कागजपत्रमा पनि बल्लतल्ल हस्ताक्षर गर्नुहुन्छ, अरू त बुझाउनै गाह्रो ।'
दलित तथा महिलाको कोटाबाट उनी मधेसी जनअधिकार फोरमकी सभासद् भएकी हुन् । दल फुटेपछि उनी लोकतान्त्रिकतिर छिन् ।
उनी फोरमले २०६३ सालमा गरेको आन्दोलनबाट सक्रिय राजनीतिमा आएकी हुन् । राजनीतिमा आउनुभन्दा पहिले उनी दलितका लागि खोलिएका स्थानीय तहका एनजिओमा सक्रिय थिइन् ।
त्यसो त कलावती अघिल्लो वर्ष पनि चर्चामा आएकी थिइन् । उपेन्द्र यादव र विजय गच्छदार समूहका महिला कार्यकर्ताबीच वीरगन्जमा ढुंगामुढा हुँदा कलावती पनि अग्रपंक्तिमा थिइन् । त्यतिवेलाको फाइल तस्बिर अहिले किन छापेको भनेर उनले नयाँ पत्रिकासित पनि आक्रोश पोखिन् । 'ओ पुराना तस्बिर हैं, अभि छाप्नेका क्या काम हैं ?' उनको आक्रोश थियो । त्यसो त प्रमोद गुप्तासँगको विवादबारे उनले अन्तर्वार्ता पनि दिइन् । तर, संवाददाताले नेपालीमा सोधेका प्रश्नको जवाफ उनले हिन्दीमा दिइन् । तपाईं नेपाली बोल्नुहुन्न भन्ने प्रश्नमा 'आप नेपाली मे बोलो न, हम तो हिन्दीमे जवाफ देेंगे' भन्दै झर्किएर उनले सहयोगीलाई फोन दिइन् । सहायकमन्त्रीका सहायक स्वकीय सचिव राकेशकुमार गुप्ताले भने, 'उहाँ नेपाली त बुझ्नुहुन्छ तर बोल्नुहुन्न ।'

उसको सरम नहीं हैं
कलावती पासवान, भौतिक योजना तथा निर्माण सहायकमन्त्री
तपाइ र प्रमोद गुप्ता एउटै दलको, एउटै जिल्लाको सभासद् । विवाद किन गरिरहनुभएको छ ?
गल्ती मेरा नहीँ हंै । गल्ती उसका हैं । प्रमोद गुप्ता बारा तीन नम्बर से जित के आया हैं । लेकिन उसका छेत्तर -क्षेत्र) तो पाँच नम्बर हैं । तीन नम्बर तो असली रुप से मेरा हैं ।
तर, तपाईं त समानुपातिकबाट निर्वाचित हुनुभएको हो नि ?
समानुपातिक से आई हुँ तो मेरा क्या कसुर ? पार्टी ने समानुपातिकमे पठाया, इसलिए समानुपातिक मे गई । उसको टिकस -टिकट) दिया तो ओ जित गया । लेकिन ओ अकेले तो नहीँ जित के आया न । हम लोग सब मिल के उसको जिताया । लेकिन जब से हम मन्त्री बने हैं, उसको डाह हो रहा हैं ।
तपाइ मन्त्री हुँदा प्रमोद गुप्ताले विरोध गरेका थिए कि थिएनन् ?
क्युँ नहीँ करेगा । उसने तो बहुत विरोध किया था । लेकिन हमको फोरम लोकतान्त्रिक पार्टी ने मन्त्री बनाया, विजय गच्छदार ने मन्त्री बनाया । उसका विरोध से क्या होगा ?
तपाईं मन्त्री हुँदा पार्टीकै अर्को नेताले विरोध गर्नुपर्ने कारण के थियो र ?
उसको सरम नहीँ हैं न । ओ एक पुरुष हैं, लेकिन टक्कर ले रहा हैं एक महिलासे, एक दलित से । दलित महिला से टक्कर लेने वाला ओ किस किसमका पुरुष हैं ? मै मन्त्री बनी हुँ न, इस चिजका उसे डाह हैं । उसका हिम्मत हो तो दुसरे पार्टीके नेता से टक्कर लेता, उमाकान्त चौधरी -स्वास्थ्यमन्त्री) से टक्कर लेता, माओवादी और एमाले के नेता से टक्कर लेता ।
गढीमाई मन्दिरको विकासका नाममा तपाइले भ्रष्टाचार गरेको भन्दै सभासद् गुप्ताले विरोध गरेका हुन् भनिन्छ नि ?
गढीमाई मे जो बजेट गया हैं, ओ हम ने नहीँ पर्यटन बोर्ड ने भेजा हंै । उसका खरच -खर्च) हम ने नहीँ किया । गढीमाईमे एक समिति हैं, उसने किया । इस मे हमको कोई लेनादेन नहीँ हैं । हम ने कोई भ्रष्टाचार नहीँ किया ।
तपाईं नेपाली बोल्नु हुन्न र ?
मैं तो भोजपुरी और हिन्दी बोलती हुँ । आप नेपाली मे बोलिए न, हम हिन्दी मे जवाफ देंगे ।
नयाँ पत्रिका बाट

No comments: